विप्लव समूहका नेता पौडेलको मृत्यु मुठभेडमैः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा नै मृत्यु भएको बताउनुभएको छ ।

राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले पौडेल मुठभेडमा मारिएको बताउनुभएको हो ।

विप्लव समूहलाई समाप्त पार्न सरकारले निर्देशन नदिएको भन्दै उहाँले पौडेलको मृत्युबारे बिस्तृत छानविन गर्ने बताउनुभयो ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ प्रहरीलाई लक्षित गरेर फायर गरेको र प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी पायर गरेको हो । मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।

त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाको प्रष्टीकरण रहेको छ ।

घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको मन्त्री थापाले जानकारी दिनुभयो ।

सरकारले पौडेल मुठभेडमा मारिएको बताउँदै आए पनि सत्तारुढ दलकै सांसदहरुले त्यसको सत्यतामा शंका गर्दै आएका छन् ।

बैठकमा नेकपाका सांसद जनार्दन शर्माले मृतक पौडेलको हात भाँचिएर छियाछिया भएको सूचना आफूले पाएको बताउनुभएको थियो ।

सांसद जनार्दन शर्माले मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६(७ ठाउँमा कसरी भाँचियो ? भनेर प्रश्न गर्नुभएको थियो ।

छानविन गर्न निर्देशन
संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालले समिति समक्ष घटनाको जानकारी गराएपछि पनि समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

पौडेलको प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा मृत्यु भएको थियो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षको रहे पनि सांसदहरुले त्यसमा शंका व्यक्त गर्दै सत्य तथ्य छानविनको माग गरेका थिए ।

विप्लव नेतृत्वको नेकपाले पनि विज्ञप्ति जारी गर्दै पौडेलको नियन्त्रणमा लिएर हत्या गरिएको जनाएको छ ।

Facebook Comments