गुगलका सेवा नचले हुवावेले स्मार्टफोनको शतप्रतिशत रकम फिर्ता दिने

अमेरिका र चीनको व्यापार तनावको चपेटामा परेको चिनीयाँ कम्पनी हुवावेका स्मार्टफोन प्रयोगकर्ताले गुगलका सेवा नचलेमा रकम फिर्ता पाउने भएका छन् ।

जिमेल, गुगल प्ले स्टोर, गुगल म्याप, यूट्युवजस्ता सेवाबाट वञ्चित हुनु परेमा हुवावे कम्पनीको स्मार्टफोन किन्ने ग्राहकले शतप्रतिशत रकम फिर्ता पाउने नेपालमा वितरण गरिरहेको बल मोबिलिटीले घोषणा गरेको हो ।

हुवावे स्मार्टफोनको नेपालका लागि वितरक कल मोबिलिटीले जारी गरेको विज्ञप्तीमा हुवावे स्मार्टफोन किन्नेहरुले गुगलको सेवाबाट वञ्चित हुनु परेमा शतप्रतिशत रकम फिर्ता गर्ने उल्लेख छ ।

आफ्नो वा आफू अन्तर्गतको स्टोरबाट खरिद भएका स्मार्टफोनलाई मात्रै यो सुविधा दिइने कल मोबिलिटीले जनाएको छ । तर स्मार्टफोनमा भौतिक क्षति भएको वा अन्य सफ्टवेयर प्रयोग गरेका फोनलाइ भने पैसा फिर्ता नदिइने विज्ञप्तीमा उल्लेख छ ।

गत महिना एन्ड्रोइड निर्माता अमेरिकी कम्पनी गुगलले आफ्नो अपरेटिङ सिस्टमको प्रयोगबाट चिनियाँ कम्पनी हुवावेलाई वञ्चित गर्ने निर्णय गरेको थियो । गुगलले तीन महिनापछि हुवावेका फोनमा आफ्नो सेवा नचल्ने घोषणा गरेको छ ।

हुवावेले सञ्चार प्रविधिमार्फत् जासुसी गरे विभिन्न तथ्यांक चीन सरकारलाइ उपलब्ध गराउँदै आएको अमेरिका लगायतका पश्चिमा मुलुकहरुको आरोप रहेको छ । हुवावले भने त्यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

गुगलले अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने भएपछि हुवावे कम्पनीले आफ्नै अपरेटिङ सिस्टमको विकास गरी छिट्टै सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।

Facebook Comments