वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने योजना छः मन्त्री बिष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने ठोस योजना सरकारसँग रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र पारदर्शी बनाउने बताउनुभयो ।

मन्त्री विष्टले प्रधानमनत्ती रोजगार कार्यक्रममा सांसदहरुले प्रश्न गरेपछि उक्त कार्यक्रम पनि पारदर्शी रुपमा अगाडि बढेको बताउनुभयो ।

सरकारले बेरोजगारलाई रोजगार दिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न तीन अर्ब १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । कार्यक्रमले स्वदेशमा नै रोजगारको सुनिश्चितता प्रदान गर्ने मन्त्री विष्टको भनाई छ ।

तर मन्त्री विष्टले सीपयुक्त जनशक्ति उत्पादन गरेर वैदेशिक रोजगारमा पठाउने नीति सरकारको रहेको पनि उल्लेख गर्नुभयो ।

एकातिर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने अर्कोतर्फ सरकारले नै सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउने भन्नु विरोधाभाषपूर्ण रहेको छ । यसअघि कर्णाली प्रदेश सरकारले कोरियन र जापनिज भाषा सिक्न सहयोग गरेपछि त्यसको व्यापक आलोचना भएको थियो ।

मन्त्री विष्टले वैदेशिक रोजगारीका लागि मलेशिया, जापान कतार, कुवेत, टर्कीलगायतका मुलुकमा नयाँ श्रम सम्झौता भएको जानकारी दिनुभयो । उहाँका अनुसार जर्मनी र पोर्चुगलमा कामदार पठाउन पहल भइरहेको छ ।

Facebook Comments