२ बर्षभित्र विजुलीमा सबै नागरिकको पहुँचः उर्जामन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी २ वर्ष भित्र देशका सवै भागमा विजुलीको पंहुच पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

संघीय संसदको प्रतिनिधिसभामा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले अहिले पनि देशका दुर्गम भूभागमा विद्युतको पंहुच २ बर्षभित्र पुग्ने बताउनुभयो ।

उहाँले २ वर्ष भित्र सकेसम्म केन्द्रीय प्रशारण लाईन जोड्ने, संभव नहुने स्थानमा वैकल्पिक ऊर्जाका माध्यमबाट भएपनि देशभर उज्यालो बनाउने बताउनुभयो ।

मन्त्री पुनले मुलुकमा अहिले करिव १३ सय मेगावाट विद्युतको माग रहेको जानकारी दिदैं नेपालमा उत्पादन भएको विजुलीले नपुगेर भारतबाट आयात गरिएको उल्लेख गर्नुभयो ।
आगामी वर्ष करिव १ हजार मेगावाट राष्ट्रिय प्रशारण लाइनमा थप हुने आयातमा उल्लेख्य कटौति हुने पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री पुनले झोलामा खोला राखेर हिड्ने अवस्था अन्त्य भएको भन्दै डेडिकेटेड र ट्रङक लाईनको बक्यौता रकम पनि उठाउने विश्वाश व्यक्त गर्नुभयो । यद्यपि डेडिकेटेड र ट्रंक लाईनबारे अहिलेपनि सर्बोच्च अदालतमा मुद्धा विचाराधीन रहेको छ ।

सम्मानित अदालतले सकारात्मक फैसल ागर्ने उहाँको भनाई थियो । आगामी ५ वर्षमा १० हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष सरकारले लिएको उहाँको भनाई थियो । मन्त्री पुनका अनुसार अहिले सम्म विभिन्न कम्पनीहरुले ७ हजार मेगावाट बराबरको विद्युत उत्पादनका लागि अनुमति पत्र लिएका छन् ।

मौशम पूर्वानुमानका दृष्टिले नेपालले पछिल्लो चरणमा राम्रो प्रगति गरेको मन्त्री पुनको प्रष्टीकरण रहेको छ । अहिले ३ दिनको पूर्वानुमान हुने गरेकामा अव ७ दिनसम्मको पूर्वानुमान गरिने मन्त्री पुनले उल्लेख गर्नुभयो ।

उहाँले क्रमशः खानेपानी, सिंचाई, ऊर्जा र पर्यटकीय प्रयोजनका लागि नेपालको जलश्रोतको प्रयोग गर्नुपर्ने अवधारणाका साथ मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

Facebook Comments