रेवान पोखराले नेपाली खानाको एक दिने महोत्सव गर्ने

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल, रेवान पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले साेमबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

फेवाताल किनार बाराही घाट चौरमा असार १३ गते उक्त महोत्सव हुने सो अवसरमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली खानाको प्रर्वद्धन, ब्रान्डिङ र बजारीकरण गर्ने हिसाबले नेपालमै पहिलो पटक यस्तो महोत्सवको आयोजना गर्न लागेको रेवानका महासचिव गणेश थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

महोत्सवमा साँगीतिक प्रस्तुती समेत समावेश गरिएकाे आयाेजकले जनाएकाे छ । महोत्सवलाई आगामी वर्षहरुमा निरन्तरता दिने रेवानले जनाएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा हुन लागेको महोत्सवमा थकाली, नेवारी, गुरुङ र थारु जातिका खाना तथा केराका परिकारहरुको छुट्टाछुट्टै स्वाद लिन सकिने थापाले जानकारी दिनुभयाे ।

महाेत्सवमा ५ वटा स्टल रहनेछन् । साँझ ५ बजेदेखि ११ बजेसम्म हुने महोत्सवमा निशुल्क अवलोकन गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली लगायतले बोलेका थिए ।

Facebook Comments