विप्लव नेतृत्वको नेकपाको बन्दले जनजीवन प्रभावित, पोखरामा कुकर बम फेला पर्यो

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको नेपाल बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ ।

आफ्नो पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।

बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ भने ठाउँ ठाउँमा भेटिएका शंकास्पद बस्तुले नागरिकमा त्रास बढेको छ ।

बन्दकर्ता सडकमा नदेखिए पोखरा, चितवन, राजधानी काठमाडौं, पाल्पा, बुटवल लगायतका प्रमुख सहर सुनसा नबनेका छन् । निजी सवारी र मोटरसाइकल फाट्टफुट्ट चले पनि सार्वजनिक यातायात चल्न नसक्दा यात्रुलाई गन्तब्यसम्म पुग्न कठिनाइ भएको छ ।

बन्दको त्रासले मुख्य बजार क्षेत्रमा निकै कम मात्र सार्वजनिक सवारी चले पनि लामो रुटमा सवारी सधान चल्न सकेका छैनन् ।

प्रहरीले विहानको तुलनामा विस्तारै सवारी साधानहरु चल्न शुरु भएको जनाएको छ । पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ भने पूर्व पश्चिम राजमार्गमा पनि बन्दका कारण निकै कम मात्र सवारी साधन चलेका छन् ।

चितवन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

बन्दको प्रभाव शैक्षिक संस्था, उद्योगधन्दा र कलकारखानामा समेत परेको छ । मुख्य बजार क्षेत्र समेत बन्द भएको छ ।

काठमाण्डौं, पाल्पा, पोखरा लगायतका कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ ।

ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको शंकास्पद बस्तु पनि बम नभएको पुष्टि भएको छ ।

विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै त्यसको विरोधमा आज एक दिन नेपाल बन्द आह्वान गरेको हो । पौडेल हत्या सम्बन्धमा छानविन गर्न सत्तारुढ दलकै सांसदको माग रहेको छ । संसदको राज्य ब्यवस्था समितिले गृहमन्त्रीसँग घटनाबारे जानकारी लिई १ हप्ताभित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

यता पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेको छ ।

बमलाई नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरीरहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले प्रसेरकुकर बम भेटिएको ठाउँलाई सुरक्षा राखेको छ । त्यसै गरि पोखरा महानगरपाकिला लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ ।

त्यसै गरी पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । उता पाल्पामा विहान ४ बजेतिर विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

Facebook Comments