पार्टी शुद्धीकरण अभियानमा लाग्न नेता कार्यकर्तालाइ चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव सीको निर्देशन

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका राष्ट्रपति सी जिनपिङले पार्टीको आन्तरिक शुद्धीकरणमा जोड दिनुभएको छ ।

पार्टीको पछिल्लो गतिविधि र अवस्था सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सिले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न आह्वान गर्नुभएको हो ।

चिनीयाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले आयोजना गरेको कार्यक्रममा सिले यस्तो आह्वान गर्नुभएको हो ।

राजनीतिक व्यूरोले समूहगत अध्ययन सत्रको आयोजना गरेको छ । सो सत्रको अध्यक्षता ग्रहण गर्दै सीले पार्टीका सम्पूर्ण नेताकार्यकर्तालाई आन्तरिक शुद्धीकरणमा दृढ भएर लाग्न निर्देशन दिनुभएको हो ।

सिन्ह्वाका अनुसार राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालसम्म शासन गर्नका लागि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको उल्लेख गर्नुभएको छ ।

पार्टीलाइ गतिशील बनाउन र माक्र्सवादी ढंगले राज्य सञ्चालनका लागि जीवन्त पार्टी निर्माण आवश्यक रहेकोमा सीको जोड रहेको छ ।

आम नागरिकको चाहना पुरा गर्न पनि पार्टी शुद्धीकरणलाई घनीभूत बनाउनुपर्ने उहाँको भनाई छ । चिनियाँ कम्युनिस्ट पार्टीको ९८ औं स्थापना दिवसको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हो ।

मन्तव्यका क्रममा सीले चिनियाँ जनताको खुसी र पार्टीको स्थापनाकालीन उद्देश्य स्मरण गर्दै काममा लाग्न निर्देशन दिनुभएको थियो ।

Facebook Comments