गलबन्दी र आऊ नाचौ साथी हो कम्मर कसेरकाे लय मिलेकाे निचाेड

प्रकाश सपूत र शम्भु राईवीचकाे गीतकाे भाका सम्बन्धि विवाद सहमतिमा टुंगिएकाे छ । सपुतकाे पछिल्लाेपटक सार्वजनिक भएकाे गलबन्दी च्यातियो तिम्ले तानेर.. गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईकाे थियाे ।

दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हाे ।

प्रस्तोता समाज नेपालका अध्यक्ष तथा गायक भीषण मुकारुङका अनुसार शम्भु राईको ‘देउसी भैलो’ गीतमा रहेको ‘आऊ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’, लयमा प्रकाश सपुतको गलबन्दी बोलको गीतको ‘गलबन्धी÷पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’, भन्ने अंशका लय मिल्न गएको निचोड निकालिएको छ । 

‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत भनी नाम उल्लेख गर्ने सहमति भएकाे छ ।

यु ट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गर्ने’, दुवैले गरेको सहमतिको पहिलो बुँदामा भनिएको छ। 

सहमतिपत्रको दोस्रो बुँदामा गलबन्दी गीतको हालसम्म युट्युबसहितका विभिन्न माध्यमबाट प्राप्तको सम्पूर्ण आम्दानीमा प्रकाश सपुतकै पूरा अधिकार हुने उल्लेख छ ।

सहमति अनुसार शम्भु राईले गलबन्दी बोलको गीतलाई लिएर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा प्रकाश सपुतविरुद्ध असार ५ गते दर्ता गराएको उजुरी फिर्ता लिनुपर्नेछ ।

Facebook Comments