बजेटमा विभेद गरिएको भन्दै काँग्रेस सांसदको असन्तुष्टी

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा विभेद गरिएको भन्दै काँग्रेस सांसदहरुले असन्तुष्टी जनाएका छन् । रेडबुकमा त्रुटी रहेको भन्दै विरोध गरिरहेको काँग्रेसले बुधबार बजेट सम्बन्धि छलफलमा विभेद गरिएको गुनासो गरेको हो ।
प्रदेशसभामा कांग्रेसको प्रतिनिधित्व गर्ने कास्की क्षेत्र नम्बर २ ख का सांसद विन्दुकुमार थापाले योजना बाँडफाँडमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद भएको बताउनुभयो ।
आफूले सर्वदलीय छलफलबाट निर्वाचन क्षेत्रमा विभिन्न २६ वटा योजना पेश गरेकामा एउटै पनि योजना समावेश नभएको भन्दै सांसद थापाले असन्तुष्टी व्यक्त गर्नुभयो ।

आक्रोशित हुँदै थापाले प्रदेशसभा बैठकमा भन्नुभयो, ‘प्रदेश सरकारले यसपालि बजेटमा तानाशाही प्रबृत्ति देखाएको छ, दुई तिहाईको दम्भ देखाएको छ’,भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विनियोज गरेको शीर्षकको बिषयक छलफल कार्यक्रममा उनले भने,‘ हामीले के मन्त्रीज्यूको घरको पैसा मागेका हौं र ? राज्यको ढुकुटी कोषमा सबैले योगदान छैन र? हामीले मन्त्री ज्यूसँग भीख मागेको हो र ? मेरो आफ्नो घर बनाउन रकम मागेको त अवश्य होईन । किन यत्रो असमान ब्यवहार ?’
आफ्नो निर्वाचन क्षेत्र सँगैका माननीयले ३१ वटा योजनाको १ अर्व पाउँदा आफ्नो निर्वाचन क्षेत्रमा एउटै योजना नपर्नु यो कहाँको न्याय हो ? थापाले प्रश्न गर्नुभयो । उहाँले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको जिल्लामा अत्याधिक बजेट केन्द्रित गरेको बताउनुभयो ।
आफूले पेश गरेका याेजना छानी छानी हटाइएकाे सूचना पाएकाे भन्दै थापाले रेड बुक पढेपछि निन्द्रा समेत नलाएकाे बताउनुभयाे ।
असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७को लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको थियो ।