सहमतिपछि काँग्रेसले पाेखरा महानगरमा लगाएकाे ताला खुल्याे

नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले लगाएको ताला खोलिएपछि पोखरा महानगरपालिकाको काम कार्वाही सुचारु भएको छ ।

यसअघि विहीबार पोखरा महानगरपालिकाको बजेटमा असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले धर्ना सहितका आन्दोलन गरेका थिए । सोही क्रममा उनीहरुले विहीबार नै महानगरको मूल गेटमा ताला लगाएका थिए ।

बजेटमा वडाबाट गरिएका सिफारिश नसमेटेको भन्दै काँग्रेसका जनप्रतिनिधि आन्दोलनमा उत्रेका हुन् ।

शुक्रबार भएको वार्तामा महानगरका मेयर मानबहादुर जिसीले प्राथमिकता हेरेर योजना समेट्ने आश्वासन दिएपछि काँग्रेस जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

आन्दोलनबारे मेयर मानबहादुर जिसी र आन्दोलनरत कांग्रेस वडाध्यक्षबिच शुक्रबार छलफल भएको थियो ।

पोखरा महानगरापालिकामा प्रतिपक्षी दलका नेता एवं वडा ९ का अध्यक्ष रामराज लामिछानेले मेयरले छुटेका योजना वडाका सिफारिशको आधारमा समेट्ने प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता लिएको जानकारी दिनुभयो ।

नगरसभाबाट गत बुधबार पारित आगामी आव २०७६०७७ को बजेटमा कांग्रेस निकटका वडाध्यक्षसहित ४८ जनप्रतिनिधिले बिहीबार महानगर कार्यालयको मुलगेटमा ताला लगाई धर्नामा बसेका थिए ।

काँग्रेसका जनप्रतिनिधिहरुले बुधबार नगरसभामा रातो किताब च्यात्नेदेखि सभागृह हलका टेबुल, कुर्सीसमेत तोडफोड गरेका थिए । काँग्रेसका जनप्रतिनिधिको विरोधका वावजुद नगरसभाले बजेट पारित गरेको थियो ।

Facebook Comments