गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन हुने

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीको नाटक मञ्चनको तयारी पुरा भएको नाटकको निर्देशक आकांक्षा कार्कीले जानकारी दिनुभयो ।

नाटकको सम्पुर्ण युनिट पोखरा आइपुगेका छन् । कार्कीकै अवधारणा, परिकल्पनामा यो नाटकलाई मञ्चन गरिनेछ । सन्देशमुलक नाटकको लागि पोखरेली दर्शकको माया र साथ पाउनेमा आफु आशावादी भएको उहाँको भनाई छ ।

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाईहरु मार्फत पितृसतात्मक सोचलाई चित्रण गर्न खोजिएको निर्देशक कार्कीले उल्लेख गर्नुभयो ।

अहिलेको विषयवस्तुमा महत्वपुर्ण संवाद नाटकमा हुनेछ । नाटक हेरिसकेपछि महिलाहरुले पनि आफुलाई भएको हिस्साको बारेमा थाहा पाउनेछन् । ‘महिलामा लाज मानेर बस्नु हुदैन, बोल्नु पर्छ भन्ने आत्मबल बढ्नेछ’ उहाँले भन्नुभयो ।

नाटक काठमाण्डौमा मञ्चन गरेपछिको सर्पोटले हौसिएर पोखरामा आएको नाटक युनिटले जनाएको छ । १५ जनाको टिमलाई व्यवस्थापन गर्नुपर्दा सहज नभएको उहाँको भनाइ छ् । पोखरा पश्चात नेपालका अन्य मुख्य शहरमा समेत नाटक मञ्चन गर्ने तयारी युनिटको छ ।

नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनय हेर्न पाइनेछ । नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ ।

Facebook Comments