घाचाेकमा चक्लाबन्दीका साथ सामूहिक खेती शुरू

गण्डकी प्रदेशमा पहिलोपटक चक्लाबन्दी गरेर खेती शुरु गरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ सिरानखेतमा धान रोपाई गरिएको छ ।

असार १५ एवम् राष्ट्रिय धान दिवसको अवसरमा सिरानखेतमा आइतबार आयोजित रोपाई महोत्सवमा कृषकहरुले जिल्लाको रैथाने धानको रुपमा रहेको जेठोबुढोको धान रोपेर महोत्सवमा रमाए ।

अन्य धानको चामल भन्दा उत्कृष्ट स्वादको कारणबाट जेठोबुढो धान पोखरा तथा यसआसपासमा चर्चित रहेको छ । ससाना टुक्राको जमीन मिसाएर एउटै बनाएपछिका ठूला ठूला गरामा धान रोप्दै, असारे गीतका भाका गुन्जाउदै र हिलो खेलेर बाउसे, रोपाहार तथा जनप्रतिनिधिहरु एउटै थलोमा रमाईलो गरेर महोत्सवमा सहभागि बने ।

विभिन्न २२ जना कृषकहरुको ५१ रोपनी जमीन मिसाएर भुमे सिर्जनशील कृषक समूह गठन गरी एउटै प्लट बनाएर चालु वर्षदेखी खेती गर्न शुरु गरेका हुन् ।

प्रदेश सरकारले जमीन चक्लाबन्दी मार्फत खेती कार्यक्रम ल्याएपछि कृषकहरु ससाना टुक्रामा विभाजित आफ्नो स्वामित्वको जमीन एकीकरण गर्न तयार भएको समूहका अध्यक्ष मोतिलाल पोखरेलले जानकारी दिनुभयाे ।

असारमा धान रोपेका कृषकहरुले कात्तिक तथा मङ्सिरमा तोरी अथवा गहुँ र चैत/वैशाखमा चैते धान रोपेर तीन खेती गर्ने लक्ष्य राखेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले घाचोकमा पहिलो पटक शुरु गरिएको चक्लाबन्दी कार्यक्रम नयाँ प्रयोग भएको बताउँदै मिहिनेती र कामप्रति उत्प्रेरित, परिश्रमी किसानहरुलाई सरकारले सदैब सहयोग गर्ने बताउनुभयाे ।

चक्लाबन्दी नितान्त नयाँ कार्यक्रम र पहिलो थालनी रहेको बताउँदै उपस्थित कृषकहरुलाई सम्वोधन गर्दै सांसद बरालले भन्नुभयाे,‘चक्लाबन्दी हाम्रो लागि नयाँ हो, तपाई कृषकहरु यस अभियानको संस्थापक बन्नुभएको छ । कृषिमा जागरण, उत्साह र क्रियाशिलता ठूलो कुरा हो, तपाईहरुको उमङ्गलाई संघ, प्रदेश र गाउँपालिकाबाट सहयोग रहन्छ।’

एउटा सानो खेतको टुक्राका लागि १० ठाँउमा विभाजन गर्ने संस्कृति भएकोमा २२ परिवार मिलेर सबैको जमीन मिसाउनु ठूलो कुरा भएको उहाँकाे भनाइ थियाे ।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले चक्लाबन्दी गरी खेती गर्नुको प्रमुख उद्धेश्य लागत कम गरी उत्पादन बृद्धि गर्नु रहेको बताउँनुभयाे । उहाँले उत्पादन बृद्धि भएमा मात्र कार्यक्रम सफल भएको मान्न सकिने बताउनुभयाे ।

अध्यक्ष गुरुङले कृषकहरुका मागको बारेमा संस्थागत रुपमा निर्णय गरेर ल्याएको खण्डमा प्राविधिक र आर्थिक र सहयोग उपलव्ध गराउन सकिने स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका जिल्ला सदस्य विष्णुबहादुर केसी, पार्टीका वडाध्यक्ष गोपाल पोखरेल, शिक्षा समन्वय तथा विकास कार्यालय स्याङ्जाका प्रमुख गोविन्द पोखरेल, कृषि सञ्जालका अध्यक्ष सम्झना अधिकारी, कृषक समूहका सचिव राजाराम पौडेल लगायतले प्रदेशको नमूना कार्यक्रम चक्लाबन्दीलाई सफल बनाउनुपर्ने भनाई राखेका थिए ।

Facebook Comments