मादी गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कास्की जिल्लाको मादी गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका, प्रदेश र केन्द्र सरकारबाट सञ्चालित विभिन्न पूर्वाधार निर्माणका योजना तथा कार्यलयबाट प्रवाह हुने सेवाका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले योजना फरफारक गर्ने प्रक्रिया झन्झटिलो भएको, प्राविधिकहरुको कमी भएकाले समयमा नै प्राविधिकको सहयोग नपाएको, भुकम्प पीडितले अहिलेसम्म पनि अनुदान पाउन नसकेको लगायतका गुनासा राखेका थिए ।

सार्वजनिक सुनुवाई अगाडि गरिएको एक्जिट पोल(बहिर्गमन अभिमत), सेवाको सन्तुष्टी सम्बन्धि अभिमत र सेवा सम्बन्धि अभिमत संकलन गरी प्रतिवेदन पेश गरिएको थियो ।

प्रतिवेदनमा सेवाग्राहीले समग्रमा गाउँपालिकाको सेवा प्रवाहमा सन्तुष्टी जनाएपनि योजना माग गर्ने, मुल्याकंन गराउने तथा भुक्तानी लिने प्रक्रिया भने झन्झटिलो रहेको बताएका थिए ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले नागरिकका गुनासा र सुझावलाई आफूहरुले मनन गर्दै गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का वडाअध्यक्षहरु क्रमश मनबहादुर गुरुङ, सत्यराज सापकोटा र रनबहादुर गुरुङले वडावाट सम्पन्न भएका योजना तथा सेवा प्रवाहबारे जानकारी गराउनुभएको थियो ।

गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेल, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले सहभागीले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

Facebook Comments