६६ औं पटक रक्तदान, रक्तदान लगत्तै ६० किमी साइकल यात्रा

पोखराका जितेन्द्रमान शाक्यले ६६ औं पटक रक्तदान गर्नुभएको छ । धादिङ पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा शाक्यले ६६ औं पटक रक्तदान गर्नुभएको हो ।

रक्तदान लगत्तै शाक्यले ६० किलोमिटर साइकल यात्रा समेत गर्नुभएको छ । उहाँले रक्तदान गरेपछि पोखराबाट खैरेनीटार पुगेर पुनः पोखरा साइकलमा फर्कनुभएको हो । उहाँले ३ घण्टाको समयमा ६० किमी साइकलयात्रा सम्पन्न गर्नुभएको हो ।

शाक्यले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने मान्यता समाजमा रहेकाले उक्त मान्यतालाई चिर्नका लागि आफूले साइकलयात्रा गरेको बताउनुभयो । शाक्य आकस्मिक रक्तदान युनिटमा समेत आवद्ध रहनुभएको छ ।

आकस्मिक रुपमा रगत आवश्यक हुँदा शाक्य सहितको टोलीले पोखरामा रक्तदातालाई बोलाएर रगतको व्यवस्थापन गर्दै आएको छ ।

यसअघि पनि शाक्यले काठमाण्डौमा रक्तदान गरी १०० किलोमिटर साइकल यात्रा गर्नुभएको थियो । साइकल यात्री समेत रहनुभएका शाक्यले १०० किमी साइकलयात्रा गरेर लगत्तै बन्जी जम्प समेत गर्नुभएको थियो ।

Facebook Comments