गाेर्खाका पुराना बामपन्थी नेता श्रीनाथ अधिकारीको स्वास्थ्य अवस्था गम्भीर

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा उपचार गराइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ ।

गएको पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका अधिकारीलाइ फाेक्साेकाे क्यान्सर भएकाे थियाे । केमाे लगायतका उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो ।

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बीच भागमा सेकाउनुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।

अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार उहाँलाई सघन उपचार कक्षमा राखिएको छ । बहिनी शान्ताका अनुसार फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात समेत भएकाे छ ।

अधिकारीको स्वास्थ्य अवस्था निकै जटिल भएपछि आइतबार अस्पतालबाट बाहिर निकाल्ने तयारी गरिएको पारिवारीक श्राेतले जनाएकाे छ ।

शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो ।

विसं २०११ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो ।

अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बन्नुभएका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लाग्नुभएका उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित उपचारमा सहयोगका लागि आश्वासन पनि दिनुभएको थियो ।

अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

Facebook Comments