संसदमा विषादी बहसः परीक्षण स्थगित गर्नुकाे कारण जानकारी गराउन मन्त्रीलाइ रूलिङ

प्रतिनिधिसभाकाे बैठकमा तरकारी तथा फलफूलमा विषादीकाे मात्रा परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकाे भन्दै आलाेचना भएकाे छ ।
सांसदहरूले सरकारकाे निर्णयकाे विराेध गरेपछि सभामुख कृष्णबहादुर महराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन रूलिङ गर्नुभयाे ।
आइतबारको संसद बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समय लिएर बोल्दै विषादी परीक्षणबाट पछि हट्नुको कारण माग गर्नुभएकाे थियाे ।
खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको र लम्पसारवादी नीति लिएको आरोप लगाउनुभएकाे थियाे ।
त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख महराले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र राजपा नेपालका सांसद प्रमोद साहले बालुवा झिक्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको घटनामा जायज माग राखेर आन्दोलन गर्दा सरकारले अन्धाधुन्ध गोली चलाएको आरोप लगाउनुभयाे ।