नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन

हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।

उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू १९ एसिया कपमा खेल्न छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएईले खेल्नेछन् ।

२ वर्षअघि भएको प्रतियोगितामा पनि नेपाल उपाधि विजेत ाबनेको थियो । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका ओपनर रित गौतम १३ रन र पवन सर्राफले ३९ रन जोडेका थिए । रितले १४ बलमा २ चौका र पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

खडकबहादुर बोहरा २२ बलमा ८ रन र कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन जोडेर आउट भए। भीम सार्कीले नटआउट ८ रन जोड्न सफल रहेको । बलिङमा हङकङका रौनक कपुरले २ विकेट लिएका थिए ।

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भएको हो । हङकङको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गर्दै ५ विकेट र कमलसिंह ऐरीले ३ विकेट लिएका थिए ।

Facebook Comments