ह्याक्सो ब्लेडले थुनुवा कोठाको झ्याल काटेर थुनुवा फरार


महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीको हिरासतमा रहेका बन्दी फरार हुने क्रममा फलाम काट्ने ‘ह्याक्सो ब्लेड’ प्रयोग गरेको पाइएको छ । सोमबार राति हिरासतको ट्वाइलेटमा रहेको झ्यालको फलामे डन्डी काटेर तीन जना थुनुवा भागेका थिए ।

अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर ललितपुरले हिरासतमा ह्याक्सो ब्लेड र्पुयाइएको र त्यसैको माध्यमद्वारा तीन थुनुवा भागेको जानकारी दिएको छ । घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको छ ।

डाँका तथा चोरी मुद्दामा थुना परेका शमसेर माझी, रुद्रलाल श्रेष्ठ र लागुऔषध मुद्दाका रविकुमार तिमल्सिना ट्वाइलेटको झ्यालमा रहेको फलामको डन्डी काटेर भागेका थिए । प्रहरीले उनीहरुलाई फेला पार्न सकेको छैन ।

लागुऔषध सम्बन्धि मुद्दा अदालतमा प्रक्रियामा रहेकै बेला मुद्दाका प्रतिवादी रहेका उनीहरु हिरासतबाट भागेका थिए ।

थुनुवा भागेपछि घटना छानविन गर्न प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रहरीले घटनामा सहयोग गरेको आशंकामा ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गर्ने प्रक्रिया बढाएको पनि जनाएको छ । प्रभागका असइ, हवल्दार र जवानलाई निलम्बन प्रक्रिया थालेको हो।

Facebook Comments