चर्किएकै पुलमा मालबाहक गाडी

पोखराको प्रवेशद्वार विजयपुर खोलामा रहेको पक्की पुलमा चर्किकाले जोखिम रहेको भन्दै मालबाहक गाडी चलाउन लगाइएको रोकावट खुलेको छ । पुलनजिकै १० टनभन्दा बढी भार बहन गरेका गाडीका लागि बनाइएको डाइभर्सन बाढीले बगाएपछि चर्किएकै पुलबाट मालबाहक गाडी आवात जावत गर्न दिइएको हो ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको स्टिल ब्रिज ११ वर्षमै ७ ठाउँमा चर्किएको पाइएको थियो । पुलको रंगरोगन गर्ने क्रममा चर्किएको देखेपछि फलामको सर्पोट दिइ हलुका सवारी साधान मात्र आवत जावतको व्यवस्था गरिएको थियो ।

चर्किएको पुलबाट एकपटकमा एउटा मालबाहक गाडी चल्न दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यसैवीच बगाएको ठाउँमा पुनः छिटोभन्दा छिटो डाइभर्सनको निर्माण कार्य गर्न मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आग्रह गर्नुभएको छ ।

पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनीयाँ ठेकेदार कम्पनीले उक्त स्थानमा डाइभर्सन बनाउने जिम्मा लिएको छ । संभवतः मंगलबार साँझसम्ममा निर्माण कार्य सकिने बताइएको छ ।

डाइभर्सनको ह्युमपाइप बगाएपछि विमानस्थल निर्माणका लागि आउने सामान ढुवानी पनि प्रभावित भएको छ । यसअघि पनि चिनीयाँ कम्पनीले नै डाइभर्सन बनाउन सहयोग गरेको थियो ।

Facebook Comments