चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

भरतपुर महानगरपालिकामा चौविसकोठी नजिकै रहेको चितवन मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीहरुले भरतपुरको चौबिसकोठीबाट नारबाजी सहित कलेजसम्म पुगेका थिए ।

मेडिकल शिक्षाका लागि सरकारले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीका अनुसार चितवन मेडिकल कलेजले एमबीबीएसको भर्ना शुल्क मात्रै तोकिएको भन्दा १२ लाख देखि २५ लाखसम्म बढी असुलेको छ ।

विना रसिद तोकेको भन्दा बढी शुल्क नगदमा नै लिने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कलेज प्रशासनले बढी शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीहरुको गुनासो छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले पुरक परीक्षा शुल्क २५ सय तोके पनि चितवन मेडिकल कलेजले पाँच हजार लिने गरेको छ । होस्टेलभित्रको क्यान्टिनमा समेत अस्वभाविक शुल्क बृद्धि गरेको विद्यार्थीको आरोप छ ।

यसअघि शिक्षा मन्त्रालयले गत चैत ७ गते विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएपनि उक्त निर्देशन कार्यान्वयनमा आएको छैन ।

यसअघि पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा पनि बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए । उक्त कलेजका सञ्चालकविरुद्ध ठगी मुद्दा चलिरहेको छ ।

Facebook Comments