विजयपुरमा एक दिनमै डाइभर्सन तयार, सवारी सूचारू(भिडियाे)

विजयपुर खोलामा मंगलबार नै डाइभर्सन बनेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे चिनीयाँ कम्पनीले एक दिनमा नै डाइभर्सन तयार पारेकाे हाे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनीयाँ कम्पनीलाइ डाइभर्सन बनाउन अनुराेध गर्नुभएकाे थियाे । त्यसाे त डाइभर्सन नहुँदा विमानस्थल निर्माणका लागि सामान ल्याउन समेत असहज भएकाे थियाे ।

चिनियाँ सिएएमसी इञ्जिनियरिङ कम्पनी र सडक डिभिजन कार्यालय पोखराले संयुक्त रुपमा २४ घण्टा भित्रै पुनर्निमाणको काम सम्पन्न गरेको हो । आइतबार राति भत्किएको डाइभर्सन भएकै ठाउँमा मंगलबार साँझसम्ममा डाइभर्सन बनेको हो ।

मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सन समेत अवलोकन गरेर चिनियाँ कम्पनीका प्रतिनिधिसँग कुराकानी गर्नुभएकाे थियाे । उक्त स्थानमा रहेकाे पक्की पुल ७ ठाउँमा चर्केर जाेखिमयुक्त भएपछि मालबाहक गाडीका डाइभर्सन प्रयाेग हुँदै आएकाे थियाे ।

गत माघमा पुलको नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केको देखिएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइ डाइभर्सन बनाइएको थियो ।

मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तै डाइभर्सन बनाउन आग्रह गर्नुभएकाे हाे । ११ बर्षअघि बनाइएकाे स्टिल ब्रिज ठाउँ ठाउँमा चर्केपछि ४ महिना अगाडिबाट लाेड गाडीहरू सञ्चालनमा राेक लगाइएकाे छ ।

बेलिब्रिजकाे काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिनुभयाे । असार मसान्तसम्ममा बनाउने भनिए पनि निर्धािरत समयमा बेलीब्रिज बन्ने संभावना न्यून देखिएकाे छ ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा-जेजे (जेभी) ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । बेलीब्रिजका सामान ढुवानीमा समेत ढिलाइ भइरहेकाे छ । बेस तयार भएपछि पनि पुल जडान गर्न कम्तीमा १० देखि १५ दिन लाग्ने बताइएकाे छ ।

विकल्पका रूपमा लेखनाथबाट सेती नदिको लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुलबाट हलुका सवारी साधन चढाउन सकिने भए पनि दोबिल्लामा रहेको पुल समेत जोखिमपूर्ण रहेकाले लोड गाडीहरु आवतजावतमा कठिन छ ।

पोखरा २६ र पोखरा १४ जोड्ने विजयपुर पुलबाट दैनिक पोखरामा ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् ।

Facebook Comments