गल्ती गर्ने त्रिवी कर्मचारीमाथि कारवाहीः प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएकाे छ ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएकाे हाे ।

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसरमा आयोजित प्राज्ञ सभामा बाेल्ने क्रममा प्रधानमन्त्रीले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको जिकीर समेत गर्नुभयाे । उहाँले मुलुकको आवश्यक्ता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ लाग्न पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गर्नुभएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवीनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभयाे । उहाँले विश्वविद्यालय भित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्रिएकाेमा दुःख व्यक्त गर्नुभयाे ।  

बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।  

Facebook Comments