उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य महानगरले तोक्छ: मेयर जिसी

पाेखरा महानगरपालिकाले कृषि र खाद्यनको मूल्य निर्धारण गर्ने भएकाे छ । पोखरामा बुधबार असिना पीडित किसानलाई राहत वितरण कार्यक्रममा बोल्दै मेयर मान बहादुर जिसीले उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य तोकिने बताउनुभएको हो ।

मेयर जिसीले बिचौलियालाई आफ्नो उत्पादन नबेच्न पनि आग्रह गर्नुभयो । उत्पादक आफैले बेच्ने व्यवस्था गर्न सके उत्पादक किसानले बजार र मूल्य दुबै पाउने मेयरको भनाई थियो ।

स्थानीय उत्पादन यदि अर्गानिक छ भने बढी मूल्यमा विक्रि गरेपनि केही फरक नपर्ने बताउनुभयो । महानगर प्रमुख जिसीले खाद्यान्न आयातमा सिण्डिकेट लगाउने सोंचमा महानगर रहेको बताउनुभयो ।

किसानलाई प्रोत्साहन गर्न र स्थानिय उत्पादनको खपत गर्नका लागि खाद्यान्न आयातमा महानगरपालिकाले सिण्डिकेट लगाउने सोंच बनाएको बताउनुभयो । कृषिमा क्षति हुँदा पनि किसानको मुख अँध्यारो नहुने वातावरण बनाइने मेयर जिसीको भनाई थियो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले महानगरले अन्तिम पटकका लागि राहत दिएको बताउनुभयो । उहाँले, ‘महानगरले सँधै राहत दिन सक्दैन, अब वीमामा जानुको विकल्प छैन, वीमामा जानु भनेको जोखिम न्यूनिकरणको भरपर्दो माध्यम हो ।’

Facebook Comments