विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधवार यस्तो आदेश जारी गरेकाे हाे । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय विरूद्ध तीनवटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए।

ती सबै रिटमा उक्त इजालसले अन्तरिम आदेश जारी गरेको हो। असार ३० गते रिटका दुवैपक्षलाई अदालतले छलफलका लागि झिकाएको छ। उक्त छलफल पछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे सर्वोच्चले अर्को निर्णय गर्ने छ।

ती रिटमध्ये स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडी, बुधबार नै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमिल्सिनाले पनि विषादी परीक्षण गरेर मात्र भारतबाट तरकारी ल्याउन आदेश दिन माग गर्दै रिट दिएकाे सर्वाेच्च श्राेतले जनाएकाे छ ।

Facebook Comments