पाेखरा विश्वविद्यालयमा तालाबन्दी, छुटेकाे परीक्षा दिन पाउनुपर्ने विद्यार्थीकाे माग

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । 

गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

परीक्षामा छुटेकालाई मौका परीक्षा सञ्चालन नगरे थप आन्दोलन गर्ने उनीहरुले क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन् ।

पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । उनीहरूले छुटेकाे परीक्षा दिन पाउनुपर्ने माग राखेका छन् ।  

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा  बिपिएचका विद्यार्थी छुटेका थिए ।

क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई  परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो । छुटेका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन मिल्ने नमिल्ने बारेमा अहिले भन्न सक्ने अवस्था नरहेको परीक्षा समितिका अध्यक्ष एवं क्याम्पसका रजिष्टार गोविन्द शर्माले जानकारी दिनुभयाे ।

उहाँका अनुसार परीक्षा समितिले मात्र निर्णय गरेर अगाडि बढ्ने अवस्था छैन ।

Facebook Comments