प्रदेश नं. ३ मा सञ्चार सम्बन्धि कार्यविधि बन्दै

प्रदेश नम्बर ३ मा पत्रकार र सञ्चारमाध्यमका लागि अलग्गै कार्यविधि बनाउन लागिएकाे छ ।

सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं. ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको हाे ।

कार्यालयले मंगलबार चितवनकाे भरतपुरमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा यस्ताे जानकारी दिइएकाे हाे ।

कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले कार्यालयले हालसम्म गरेका काम र भावी योजनाका विषयमा तयार गरिएको कार्यविधि प्रस्तुत गर्नुभएकाे थियाे ।

अन्य जिल्लामा पनि कार्यविधिमाथि छलफल गरी सुझाव लिएर पारित गर्न प्रस्ताव पेश गरिने सापकाेटाले जानकारी दिनुभयाे ।

कार्यविधिमा प्रदेशको आम सञ्चार तथा सूचना प्रविधिसम्बन्धी अनुसन्धान गर्ने, पत्रकारिता, सञ्चार तथा सूचना प्रविधिमा शोधपत्र तयारीका लागि पत्रकारलाई शोधवृत्ति दिने, कार्य सम्पादनका सिलसिलामा दुर्घटनामा परेका पत्रकारलाई क्षतिको आधारमा रु ३० हजारसम्म सहयोग दिने लगायतका विषय समावेश गरिएकाे छ ।

साथै कार्यविधिमा दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई रु ५० हजार तथा पत्रकारलाई घातक रोग लागेमा उपचारका लागि रु ७५ हजारसम्म आर्थिक सहायता दिन प्रस्ताव गरिएकाे छ ।

महिला पत्रकारले सञ्चालन गरेका टेलिभिजन, एफएम रेडियो वा दैनिक पत्रिकाका हकमा वार्षिक रु ५० हजार अनुदान दिने, पत्रकारलाई लेखन वृत्ति दिने, खोज अनुसन्धान गरी समाचारमूलक सामग्री लेख्न चाहेमा रु ५० हजारसम्म सहयोग दिने, ज्येष्ठ पत्रकारलाई मासिक वृत्ति दिने विषय समेत कार्यविधिमा प्रस्ताव गरिएकाे छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउनका लागि मेहनतका साथ कार्यविधि तयार पारिएकाे उल्लेख गर्नुभयाे ।

कार्यक्रममा सहभागी पत्रकारहरूले श्रमजीवी पत्रकार ऐन लागू गर्न ठूला सञ्चारमाध्यममा बढी समस्या देखिएको बताएका थिए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारुमगर लगायतले कार्यविधिमा सुझाव दिएका थिए ।

Facebook Comments