एकादशी पर्व : तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै

तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीकाे विवाह गर्ने दिन हिन्दु धर्मावलम्वीहरूले विशेष रूपमा मनाउने गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु हरिबाेधनी एकादशीका दिन ब्युँतिने धार्मिक विश्वास रहेकाे छ ।

आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी समेत भन्ने गरिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गर्ने तथा माैन व्रत समेत गरी विशेष पूजा अारधाना गर्दछन् ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा सजाएर हरिबाेधनी एकादशीका दिन विवाह गरिन्छ ।

तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गर्ने प्रचलन रहेकाे छ ।

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास समेत रहेकाे छ ।

काठमाण्डाै उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘चार नारायण’ भनिने यी मन्दिरमा आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यसैले यी चार नारायणमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

चितवन, नवलपरासी र तनहुँकाे कालीगण्डकी र त्रिशुलीकाे संगमस्थल देवघाटमा पनि दर्शनार्थीकाे भीडभाड रहेकाे छ । देशका विभिन्न नदिहरूमा ताेरण बनाएर नदीमा वारपार गरेर टाँग्ने प्रचलन छ । गाेरखा र लमजुङकाे वीचमा रहेकाे चेपे नदीकाे बाेराङखाेला नजिकै पनि एकादशीका दिन मेला लाग्ने गर्दछ ।

Facebook Comments