सर्वपक्षीय बैठकमा लिम्पियाधुरा क्षेत्र नेपालकाे भएकाे निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाउनुभएकाे सर्वदलीय सर्वपक्षीय बैठकले कालपानी क्षेत्रकाे लिम्पियाधुरा भारतले सार्वजनिक गरेकाे नक्सामा रहेपनि साे भूभाग नेपालकाे रहेकाे निष्कर्ष निकालेकाे छ ।

उक्त क्षेत्रकाे कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । उक्त बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मकाे नेपाली भूमी फिर्ता ल्याउन कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएकाे छ ।

भारतले पछिल्लाे समय सार्वजनिक गरेकाे नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा सामाजिक सञ्जालमा चर्काे विराेध भएकाे छ ।

त्यस्तै विभिन्न दलनिकट विद्यार्थी संगठनका तर्फबाट विराेध प्रदर्शन लगायतका कार्यक्रम भएका छन् ।

विराेध प्रदर्शन भएकाे र सामाजिक सञ्जालमा समेत चर्काे अालाेचना भइरहेका बेला यसबारे साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बाेलाउनुभएकाे हाे ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी क्षेत्रसम्म नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता लिन पहल गर्नुपर्ने बताउनुभएकाे थियाे ।

बैठकमा सहभागी सबैले नेपाली भूमी फिर्ता लिन ठाेस कुटनीतिक पहल गर्न माग गरेका थिए ।

बैठकमा सहभागीहरु नेताहरुले तत्काल भारतसँग सम्वाद गर्न सुझाव दिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रकट भएको विचारका आधारमा सरकारले तत्काल भारतसँग सम्वाद गर्ने बताउनुभयाे ।

कालापानी क्षेत्रकाे नेपाली भूभागमै भारतीय सेनाले क्याम्प राखेकाे छ ।

Facebook Comments