पाेखराकाे लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाइने

पोखराको लामेआहालमा प्रदेशस्तरीय बसपार्क बनाइने भएको छ । पोखरा ३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउन लागिएको हो ।

पोखरा महानगरपालिकाले प्रदेश सरकार र नगर विकास कोषसँगको सहकार्यमा बसपार्क बनाउन लागिएकाे हाे ।

पाेखरा महानगरपालिकाले बसपार्क निर्माणका लागि डिपिआर तयार भएकाे बताएकाे छ । पर्यटकीय शहर पाेखरामा अहिलेसम्म व्यबस्थित बसपार्क नहुँदा बाह्य तथा आन्तरिक पर्यटक र साधारण यात्रुलाइ समेत समस्या परिरहेकाे छ ।

यसअघि पोखरा बसपार्क बनाउन भनेर पोखरा उपत्यका नगर विकास समितिले २०३२ सालमा बसपार्क बनाउने भनेर २०५ रोपनी जग्गा अधिग्रहण गरेपनि हालसम्म बसपार्क बन्न सकेकाे छैन ।

बसपार्क बनाउने भनिएकाे स्थानमा सुकुम्बासीका नाममा जग्गा ओगटेर सयाैं परिवार बसाेबास गरिरहेका छन् भने पृथ्वी राजमार्ग विस्तारका कारण समेत केही जग्गा घटेकाे छ ।

प्रदेश स्तरिय बसपार्क भनेपनि बाइपास रोड बनिनसकेकाले यहाँबाट छुट्ने बसहरु पोखरा भित्रिएरै बाहिरी जिल्ला जानेछन् । यसअघी प्रदेश स्तरीय बसपार्कबाट सिधै बाइपास रोडमार्फत स्याङ्जा र पर्वत जोड्ने भनिएको थियो । तर बाइपास रोड नबनिसकेकाले पोखराका भित्री बाटोबाटै बसहरु अन्य जिल्ला भित्रिनेगरी बसपार्कको डिपीआर तयार पारिएको छ ।

महानगरले प्रदेश सरकार र नगर विकास कोषसँगको सहकार्यमा बसपार्क बनाउन प्रस्ताव गरेकाे छ ।

डिपीआरमा लामेआहालमा ८४ हजार ९ सय ४९ स्क्वार मिटरको बसपार्क बनाइने उल्लेख छ । जसको लागत १ अर्ब ४२ करोड लाग्ने अनुमान गरिएको छ ।

डिपीआर अनुसार लामेआहालमा बनाउने भनिएको बसपार्कमा लामा दुरीका १ सय ४४ वटा बस रोक्न मिल्ने ह्याङ्गर बनाइने छ ।

त्यस्तै छोटा दुरीका ४४ वटा बस रोक्न मिल्ने छुट्टै ह्याङ्गर बनाइनेछ ।

प्रस्तावित बसपार्कबाट एकैपटक ११ वटा बस अराइभल र १० वटा बस छुट्नका लागि क्यूमा बस्न मिल्ने बनाइनेछ ।

Facebook Comments