कास्की २ मा काँग्रेसको घरदैलो जारी

कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उप निर्वाचनका लागि दलहरुले चुनावी प्रचारमा तीव्रता दिएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सम्पन्न गर्नुभएको छ ।

उहाँले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गर्नुभएको हो ।

उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुने कार्यक्रम रहेको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

पौडेल उम्मेदवार बनेर पोखरा–३३ पुग्दा त्यस स्थानका मतदाता निकै उत्साहित भएको काँग्रेसले दावी गरेको छ ।

पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारले उम्मेदवार पौडेल निष्ठावान र इमान्दार नेता भएकाले पनि धेरैको आशाको केन्द्रमा रहेको उल्लेख गर्नुभयो ।

घरदैलोका क्रममा जनताले पौडेलसमक्ष खानेपानी, विद्यालय भवन, सडक, पुल लगायतका समस्या प्रस्तुत गरेका थिए ।

यता, पोखरा–४ मा सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल पनि सहभागी हुनुभएको छ ।

डा. रिजालको उपस्थितिमा पोखरा–४ का विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम भएको चुनाव प्रचार समितिका सहसंयोजक लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी पोखरा–७ का विभिन्न स्थानमा पनि घरदैलो जारी छ । कास्की कांग्रेसका नेता एवं चुनाव कमाण्डर शुक्रराज शर्मा सहित घरदैलो अभियान भएको वडा इकाइ सभापति नवीन बरालले जानकारी दिनुभयाे ।

यस्तै, पोखरा–८ मा पूर्व महामन्त्री तारानाथ रानाभाट, पोखरा–९ मा नेता विरेन्द्रनरायण विजुक्छे, पोखरा–१७ मा पार्टी सभापति कृष्ण केसी, १५ मा सांसद विन्दा राना लगायतको उपस्थितिमा घरदैलो अभियान जारी रहेको काँग्रेसले जनाएको छ ।

कांग्रेसले कास्की–२ भित्रका ११ वटै वडामा चनावी कमाण्डर खटाएर अभियान शुरु गरेको हो । वडामा खटिएका कमाण्डरहरूले पार्टीका सबै भातृ तथा शुभेच्छुक संगठनलाई चुनावमा परिचालन गरेका छन् ।

Facebook Comments