साग सफलतापूर्वक सम्पन्नः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेल(साग)को अत्यन्तै ठूलो महत्व रहेकाे बताउनुभएकाे छ ।

साग सफलतापूर्वक सम्पन्न हुँदै गर्दा प्रधानमन्त्री ओलीले एक भिडियाे सन्देश जारी गर्दै खुसी व्यक्त गर्नुभएकाे छ ।

भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको प्रधानमन्त्रीकाे सन्देशमा उल्लेख छ ।

यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरुको संलग्नता रहेको उहाँकाे भनाइ छ ।

पदकहरु पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।

यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिबृद्धि गर्ने कुराकाे अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । सन्देशमा उल्लेख छ ।

साथै उहाँले साग सफल पार्न संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई समेत दिनुभएकाे छ ।
काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा भएकाे पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments