जलवायु परिवर्तन प्रभावलाई आत्मसात गर्नुपर्छः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्व व्यापिरुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात गर्दै अघि बढनुको विकल्प नरहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान/ नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङघद्धारा आज यहाँ आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक क्षेत्रीय परामर्श गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न सामुहिक प्रयासको खाँचो औल्याउनुभयो । हिमाल पग्लने र तालहरु फुट्ने एवम् समुदी तटीय क्षेत्रमा पानीको बहाव बढ्नु जलवायु परिवर्तनको प्रत्येक्ष प्रभाव भएको उहाँको भनाई छ ।

मुख्यमन्त्री गुरुङले विशेष गरि प्रभावित क्षेत्रका वासिन्दाको संरक्षण र वातावणीय सन्तुलन कायम गर्न सबैको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले पृथ्वीमा बृद्धि भएको तापक्रमको कारण अनाबृष्टि, अतिवृष्टिसंगै आउने पैह्रोले पहाडी क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै उर्वर भूमि समेत नष्ट हुँदै गएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले जलवायु परिवर्तन अनुकुलनका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पर्ने मनाङ, मुस्ताङ र गोरखा जिल्लामा जयवायु परिवर्तनको प्रत्येक्ष प्रभाव देखिएको उहाँको भनाई छ ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष गणेश गुरुङले चैत महिनाको २०,२१ र २२ गते हुने जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक काठमाडौंमा हुने पहिलो सगरमाथा सम्वाद वा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सुझाव संकलन गरिने कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभयो ।

कार्यक्रममा छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. केशव गौतमले, राजेन्द्र श्रेष्ठले १९९२ को महासन्धिले पृथ्वीको तापक्रम १ दशमलव ५ देखि दुई डिक्रि बढन नदिने भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि आ–आफनो मुलुकवाट जलवायु परिवर्तन न्यूनिकरणमा सहयोग गर्ने प्रस्ताव परित भएको चर्चा गर्नुभयो ।

हिमालदेखि तराईसम्म र विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको कारण परेको प्रभावबारे शेषकान्त शर्मा, डा. दिलबहादुर क्षेत्री, मिनबहादुर सोती, लक्ष्मी गुरुङ लगायतले अनुभव आदान प्रदान गर्नुभएको थियो ।

Facebook Comments