पाकिस्तानका पूर्व राष्ट्रपति विरूद्ध देशद्राेहकाे आरोपमा मृत्युदण्डको आदेश

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई त्यहाँकाे विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको हाे ।

पाकिस्तानकाे विशेष अदालतले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको पहिलाे घटना हाे ।

तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताएको छ।

मुसर्रफ संयुक्त अरब इमिरेट्समा स्वास्थ्याेपचारमा रहेकै बेला अदालतकाे यस्ताे फैसला आएकाे हाे ।

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो ।

मुसर्रफ सेनाकाे प्रमुख रहेका बेला सन् १९९९मा सत्ता आफ्नाे हातमा लिइ राष्ट्रपति बन्नुभएकाे थियाे ।

Facebook Comments