नमुना माझी बस्ती निर्माण अन्तिम चरणमा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर निर्माण सम्पन्न भएको छ । स्वेता फाउण्डेशनको पहलमा भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ ।

राता र कलेजी बस्ती टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ । स्थानीयहरु नयाँ घरमा सरेपछि खुशी देखिएका छन् ।

दायाँबायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ । सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ ।

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन कठिनाई परेका उनीहरुलाई स्वेता फाउण्डेशनले सहयोग गरेको हो ।

चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गर्नुभएको थियो ।

नायिका खड्काबाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आउनुभएका निराजन सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो ।

सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडक लगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनुपर्छ ।

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउनुहुन्छ ।

सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो । यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको र घर निर्माणको काम पनि गाउँले आफैँले गरेका हुन् ।

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायतका संरचना बन्ने क्रममा रहेका छन् ।

आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण कार्य गर्ने लक्ष रहेको मुस्किल छ ।
अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्तीमा प्रत्येक घर तीन आनामा जग्गामा बनेको छ । घरमा तीन कोठा र शौचालय रहेका छन् । सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण गरिएको हो ।

Facebook Comments