अफगानिस्तानमा पछिल्लो एक दशकमा लाखभन्दा बढी ब्यक्तिकाे मृत्यु

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते भएकाे जनाएकाे छ ।

संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेकाे प्रतिवेदनमा अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको यस्ताे तथ्याङ्क जारी गरेकाे हाे ।

साथै राष्ट्रसंघले अफगानिस्तानमा जारी १८ बर्षे युद्धलाई अन्त्य गर्न आग्रह समेत गरेकाे छ ।

अफगानिस्तानका तालिवान विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ता चलिरहेका समय संयुक्त राष्ट्रसंघले यो तथ्याङ्क जारी गरेको हो ।

गत सेप्टेम्बरमा तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको वार्ताका आधारमा एक सम्झौता गर्दै स्थायी शान्तिका लागि अघि बढ्ने प्रयास भइरहेकाे बताइएकाे छ ।

तर साेही समयमा विद्रोहीले अमेरिकी सैन्य अधिकारीको मृत्यु हुने गरी काबुलमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकतर्फीरूपमा वार्ता तत्कालका लागि भङ्ग भएको जानकारी गराइएको थियो ।

विद्रोही र सरकारबीचको निरन्तर झडपका घटनाबाट अफगानी सर्वसाधारणको मृत्यु हुने क्रम जारी रहँदा पुनः वार्ता सुरू भएको बताइएको छ ।

राष्ट्रसंघका अनुसार यस वर्षको मध्यमा (जुलाई १ देखि सेप्टेम्बर ३० सम्म) अफगानिस्तानमा कम्तीमा एक हजार १७४ जनाको मृत्यु भएको छ भने तीन हजार १३९ घाइते भएका छन् ।

राष्ट्रसंघको तथ्याङ्कमा गत वर्ष अफगानिस्तान द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या निकै कहालीलाग्दो थियो । गत वर्ष तीन हजार ८०४ जना सर्वसाधारणले ज्यान गुमाए भने त्यसमध्ये ९२७ बालबालिका थिए ।

Facebook Comments