कफी खेती विस्तार हुन नसक्दा आवश्यक मात्रामा उत्पादन हुन सकेन

२०३३ सालमा सरकारले भारतबाट अराविका जातको कफिको विउ ल्याएपछि गुल्मीमा व्यावसायिक कफी खेती सुरु भएको मानिन्छ । कफी खेतीका लागि नेपाल ऊर्वर भूमी भएपनि ४३ वर्ष बित्दा पनि आवश्यक पर्नेजति कफीको खेती र उत्पादन भएको छैन । कफी खेतीको विस्तार नहुँदा हरेक वर्ष सयौँ टन आयात हुने गरेको छ । कफी खेतीका लागि मुलुकका ४० जिल्ला उपयुक्त छन् । तर नुवाकोट, गुल्मी, सिन्धुपाल्चोक, काभ्रेलगायतका १२ जिल्लामा मात्रै अहिले व्यावसायिक रुपमा कफी खेती भइरहेको छ । तुसारो नपर्ने र पारिलो घाम लाग्ने जमिनमा कफी खेति गर्न सकिने राष्ट्रिय फलफूल विकास केन्द्रका कृषि प्रसार अधिकृत शरद पाण्डेको भनाइ छ ।

खेतीयोग्य सबै जमिनमा कफी नलगाइँदा गतवर्ष मात्रै विदेशबाट १ सय ६३ मेट्रिकटन कफी आयात भएको तथ्यांक छ । यो वर्ष भने ११ सय मेट्रिकटन भन्दा बढी कफी आयात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । कफी खेती गर्न चाहाने किसानहरुको लागि बोर्डले सहयोग गर्ने बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालले बताउनुभयो ।

अहिले दुई हजार ६ सय ५० हेक्टर जमिनमा मात्रै भएको खेतीबाट ८४ हजारभन्दा धेरै किलो कफी निर्यात हुँदा नौ करोड ३७ हजार २५ रुपैयाँ आम्दानी भएको छ । कफी खेतीलाई राम्रोसँग विस्तार गर्नसके मुलुक आर्थिक रुपमै बलियो हुन सक्ने कफि विज्ञहरु बताउँछन् । नेपालले अहिले पाँचसय मेट्रिकटनको हाराहारीमा कफि उत्पादन गरिरहेको छ । तर जापान, कोरिया, जर्मनी लगायतका देशबाट ८ हजार मेट्रिक टन कफी माग भइरहेको छ । नेपाललाई आन्तरिक रुपमै पनि ७ देखि ८ हजार मेट्रिक टन कफि आवश्यक पर्ने गरेको छ ।

Facebook Comments