युक्रेनको विमान दुर्घटनाको विषयमा छानविन गर्न नेताहरुको माग


इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान तेहरानमा दुर्घटना भएको विषयमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग नेताहरुले गरेका छन् । क्यानडा र युकेका नेताहरूले त्यसको अनुसन्धान गर्न माग गरेका हुन् । दुर्घटनामा विभिन्न देशका १ सय ७६ नागरिकको मृत्यु भएको थियो । अमेरिकी सञ्चार माध्यमहरूले विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमण स्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दैगर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनी झुक्किएर प्रहार गरेको हुनसक्ने अनुमान गरेका छन् ।

तर इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको भन्दै त्यसको खण्डन गरेको छ । इरानी सरकारका एक प्रवक्ताले पश्चिमा देशले लगाएको आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । बुधबार भएको विमान दुर्घटनामा विभिन्न देशका एकसय ७६ मानिसको मृत्यु भएको थियो ।

Facebook Comments