सूचना प्रविधि विधेयकमा पत्रकार महासंघकाे विराेध

नेपाल पत्रकार महासंघले सूचना प्रविधि विधेयक सच्याउनुपर्ने बताएकाे छ ।
विधेयककाे कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै अन्यथा विधेयक विरुद्ध अदालत जाने चेतावनी महासंघले दिएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले कठपुतली अदालत गठन गरेर नागरिककाे माैलिक हक कुण्ठित गर्न खाेजिएकाे बताउनुभयाे ।
काठमाण्डाैमा भएकाे सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भएपनि केही बुँदाहरुमा सजाय थप लगायतका प्रावधानप्रति महासंघकाे असहमति रहेकाे बताउनुभयाे ।
नेपाल बार एशोसिएसन लगायतका संघ संस्थाहरुसँग पत्रकार महासंघले सहकार्य गरेर सातै प्रदेशमा विधेयकको विराेधमा कार्यक्रम राख्ने पनि उहाँकाे भनाइ छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताउनुभयाे।
काँग्रेस निकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारमा गएपछि प्रेसलाई थुनिहाल्नु पर्ने, प्रेसलाई बन्देज लगाउनुपर्ने मानसिकता विकास हुनु अनाैठाे रहेकाे टिप्पणी गर्नुभयाे ।
अन्तक्रिया कार्याक्रममा सहभागिहरुले सरकारले नागरिक स्वतन्त्रता नियन्त्रणमुखि विधेयक ल्याएको आरोप लगाएका थिए ।
सरकारले ल्याएकाे सूचना प्रविधि विधेयकप्रति पछिल्लाे समयमा विराेध बढीरहेकाे छ ।