आहा रारा गोल्डकप फुटबल प्रतियोगिता फागुन अन्तिममा

आहा रारा गोल्डकप फुटबल प्रतियोगिता फागुन चौथो साता हुने भएको छ।

आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी १८औँ संस्करणको आहा रारा फुटवल फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो।


प्रतियाेगितामा १० टिमकाे सहभागिता रहने भएकाे छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय गोल्डकप फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले तोकेकै मितिमा गर्न लागिएकाे हाे ।

क्लबका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार प्रतियोगिता निर्माणाधीन पोखरा रंगशालामा हुनेछ ।


प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लबहरु, विदेशी टोली र आयोजक सहारा क्लबसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिनुभयाे।

प्रतियोगितामा वेष्ट अफ फाइभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले पाउने पुरस्कार रकमका बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमानले गरेको छ।

क्लबले सञ्चालन गरेकाे सहारा एकेडेमीमा प्रतियोगिताबाट बचत भएको रकम खर्च गरिनेछ ।

Facebook Comments