पोखरा म्याराथनमा २ हजार बढी सहभागी

भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शुरु भएको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह वोगटीले सहभागीता जनाउनुभएको छ ।

पोखरा म्याराथनमा सहभागिता जनाउन पोखरा आइपुग्नुभएका धावक वोगटीले सागमा २ घन्टा २१ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पार्नुभएको थियो ।

पोखरा म्याराथनले आफूलाई म्याराथन धावकको रुपमा जन्म दिएकोले कहिल्यै विर्सन नसक्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–“मलाई धावकको रुपमा पोखराले नै जन्म दिएको हो । म पोखरा म्याराथनको उत्पादन भएकोले पुरस्कार जित्न भन्दा पनि सहभागिता हुनैका लागि काठमाडौ बाट आँए ।”

११ औं पोखरा म्याराथन मार्फत पहिलो पटक पोखरा म्याराथन दौडिएका वोगटीले छैटौं स्थान हाँसिल गर्नुभएको थियो ।

यसै विच पोखरा शहरको भगिनी सम्वन्ध रहेको जापानको कोमागानेका धावक पनि पोखरा आइपुगेका छन । जापानको कोमागाने शहरमा हालै सम्पन्न हाफ म्याराथनका विजेता धावक युशुकी नाकाशाकीले पोखरा म्याराथनमा सहभागिता जनाउने बताइएको छ ।

पोखरा म्याराथनमा डेनमार्ककी २४ वर्षिय धावक शिसिलीको पनि सहभागिता रहने बताइएको छ ।

यसैवीच पोखरा म्याराथन अन्तरगत हुने विभिन्न इभेन्टमा सहभागिता जनाउनेको संख्या २ हजार नाघेको छ । फुल म्याराथन ४२.१९५ किलोमिटरमा १२५ जना, १० किलोमिटर महिला पुरुष तर्फ ३५०जना, ५ किलोमिटर छात्र–छात्रा तर्फ १६५० जना, ह्विल चियर, दृष्टीविहिन महिला पुरुष तर्फ करिब १०० जनाको सहभागिता रहने बताइएको छ ।

Facebook Comments