आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताकाे पुरस्कार राशी बढ्याे

पाेखरामा हुने प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताकाे तयारी तीव्र भइरहेकाे छ ।

प्रतियाेगिताकाे तयारीका बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी दिइएकाे छ ।

२२ फागुनदेखी हुने प्रतियोगिताको १८औं संस्करणको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।

आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले पोखरा रंगशालास्थित फुटवल स्टेडियममा संचालन हुने प्रतियोगिता १ चैतसम्म चल्ने जानकारी दिनुभयाे ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको गत वर्ष सम्पन्न १७औं संस्करणको विजेताले ८ लाख १ हजार र उप विजेताले ४ लाख १ हजार पुरस्कार पाएका थिए ।

यस संस्करणमा विजेताले २ लाख र उपविजेताले १ लाख रूपैयाँ बढी पुरस्कार प्राप्त गर्ने भएका हुन् । १७ औं संस्करणको विजेता रुसलान थ्रिस्टार क्लब र उप विजेता त्रिभुवन आर्मी क्लब बनेको थियो । 

प्रतियाेगितामा १० टिम सहभागी हुने 
आयोजक सहारा क्लबले दिएकाे जानकारी अनुसार प्रतियोगितामा १ विदेशीसहित १० टिमको सहभागिता हुनेछन् ।

सहभागी टिमहरुमा विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लबसँगै ए डिभिजनका क्लबहरु रुसलान थ्रिस्टार क्लब, नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब, ब्रिगेट व्बाईज क्लब, झापा ११ फुटल क्लब, संकटा क्लब, आयोजक सहारा क्लब गरी ९ स्वदेशी टिम छन् भने गान्टोक सिटी फुटवल क्लब, भारत क्लब विदेशी टिमकाे रूपमा रहेकाे छ ।

प्रतियाेगिताले नेपाल भ्रमण वर्ष सन २०२० लाई सफल पार्न सहयोग गर्ने र नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउने क्लबका अध्यक्ष केशवबहादुर थापाकाे भनाइ छ ।

प्रतियोगिताबाट १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । बचत हुने रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमी संचालनका लागि खर्च गरिने छ ।

Facebook Comments