नेकपा संकटमा, प्रधानमन्त्रीकै अग्रसरतामा एमाले दर्ता भएकाे हाेः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सत्तारूढ दल नेकपा गम्भीर संकटमा रहेकाे बताउनुभएकाे छ ।

पार्टीमा समस्या छैन भन्ने हाेइन, गम्भीर संकटकाे अवस्था छ प्रचण्डले भन्नुभयाे, ‘समस्या समाधानका लागि छलफल भइरहेकाे छ ।’

नयाँ नक्सा जारी गर्ने निर्णय पार्टीले गरेको भए पनि यसको जस प्रधानमन्त्रीले एकलौटी प्रचार गरिएकाेप्रति पनि प्रचण्डले असन्तुष्टि प्रकट गर्नुभयाे।

शुक्रबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टीका संस्थापकद्वय पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यकाे स्मृति समारोहमा बोल्दै प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।

‘नक्सा जारी गर्नु भनेर निर्णय गर्ने पार्टी राष्ट्रघाती र दलाल हुने तर नक्सा जारी गर्न ढिलो गर्ने सरकारको नेतृत्वकाे चाहिँ देवत्वकरण हुने ?’ प्रचण्डकाे गुनासाे थियाे ।

प्रचण्डले आफूले अध्यक्षता गरेको पार्टीको स्थायी कमिटीले पुसमै नक्सा छाप्ने निर्णय गरे पनि सरकारले त्यसबेला नक्सा किन भूमि नै ल्याउँछौं भनेर ढिलो गरेको पनि बताउनुभयाे ।

नीति तथा कार्यक्रम आउने दिन बिहान बसेको सचिवालय बैठकले नक्सा जारी गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेपछि त्यसमा प्रधानमन्त्रीजी सहमत हुनु भएको हो र त्यहींबाट मूख्य सचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा यो थपिएको प्रचण्डले स्पष्ट गर्नुभयाे ।

पार्टीको बैठक चलिरहेको समयमा निवार्चन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको प्रचण्डले उल्लेख गर्नुभयाे । यस कार्यले पार्टी कतै फुटाउन लागिएकाे तर्फ प्रचण्डकाे शंका थियाे ।

Facebook Comments