सिन्धुपाल्चोकमा पहिराेमा परी १० जनाको मृत्यु

सिन्धुपाल्चाेककाे विभिन्न स्थानमा पहिराेमा पुरिएर १० जनाकाे मृत्यु भएकाे छ ।

मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठजनाको शव फेलापरेको प्रहरीले जानकारी दिएकाे छ ।

गएराति आएको पहिराेमा परेका आठजनाकै शव फेलापरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयाे । 

मृत्यु हुनेमा सातजना वीरगन्जका र एकजना भारतीय नागरिक रहेका छन् । वीरगन्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको हाे ।

घाइते भारतीय नागरिक बारु शाहको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकाेप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं लगिएको छ ।   

सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराेले एक घर पुर्दा दुईजनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकीनजिकै घर पुर्दा ४० वर्षीय यज्ञबहादुर क्षेत्री बञ्जरा र निजकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जराको मृत्यु भएको हाे ।

पहिराेले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा ठूलो क्षति पुर्‍याएको छ । यसअघि पनि सिन्धुपाल्चाेकमा पहिराे र बाढीले दर्जनाै घरपरिवार विस्थापित भएका थिए भने केहीकाे मृत्यु समेत भएकाे थियाे ।

Facebook Comments