नेपालमा थप १ हजार ६९ जनामा संक्रमण पुष्टि

नेपालमा मंगलबार थप १ हजार ६९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
मंगलबार मात्रै १२ हजार ८८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
मंगलबार थप भएका समेत हालसम्म संक्रमित हुनेको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।
विगत २४ घन्टामा ७ सय ६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने १८ हजार १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म २२ हजार १ सय ७८ जना संक्रमित निकाे भएका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छ । त्यसमध्ये चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
हालसम्म सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमित शुन्य भएकाे गाैतमले जानकारी दिनुभयाे ।
मंगलबार काेराेना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । जसमध्ये ४ बर्षीय बालिका समेत रहेकाे मन्त्रालयले जनाएकाे छ ।