नेपालमा ७ लाख १८ हजार बढीको पिसिआर परीक्षण, ४१ हजार ६ सय ४९ मा कोरोना संक्रमण

नेपालमा हालसम्म ७ लाख १८ हजार बढीको कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७ लाख १८ हजार ४ सय ३९ जनाको पिसिआर परीक्षण गरिएको हो ।

परिक्षण गरिएकामध्ये कोरोना भाइरस(कोभिड–१९)बाट ४१ हजार ६ सय ४९ जना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

बुधबार गरिएको परीक्षणमा देशभर थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा ८ सय पुरुष र ३ सय २० जना महिला रहेकाे र बुधबार थप भएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

हालसम्म काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २३ हजार २ सय ९० पुगेको छ ।

१८ हजार १ सय ८ जनामा काेराेना संक्रमण सक्रिय अवस्थामा छ । त्यसमध्ये १० हजार चार सय ९३ जना संस्थागत आइसोलेसन र ६ हजार सात सय ६६ जना होम आइसोलेसनमा रहेको पनि डा.गाैतमले जानकारी दिनुभयाे ।

संक्रमितमध्ये १ सय ४४ जनाको आइसियूमा र १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म २ सय ५१ जनाकाे काेराेना भाइरसकाे संक्रमणका कारण निधन भएकाे छ । बुधबार मात्रै ११ जनाकाे निधन भएकाे हाे ।

Facebook Comments