सरकारले नेकपा उपाध्यक्ष गाैतमलाई राष्ट्रिय सभा सदस्य मनाेनयन गर्ने

सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ । 

बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको रिक्त पदमा मनोनयन गर्ने जानकारी गराउनुभएकाे हाे ।

नेकपा सचिवालय २०७६ फागुन १४ गतेकाे बैठकले सर्वसम्मत रूपमा पार्टी उपाध्यक्ष गाैतमलाई राष्ट्रिय सभामा पठाउन सरकारलाई निर्देशन दिएकाे थियाे ।

लगत्तै प्रधानमन्त्री ले पार्टी निर्णय कार्यान्वयन गर्न नसक्ने बताउनुभएपछि नेकपाकाे उक्त निर्णय बेवारिसे जस्तै बनेकाे थियाे ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठकमा गौतमलाई राष्ट्रिय सभामा मनोयनका लागि राष्ट्रपतिसमक्ष पठाउने बताउनुभएकाे थियाे ।

बैठकमा पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि समेत बैठकमा छलफल भएको छ। 

कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भएपछि ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे।  

Facebook Comments