अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएकाे छ । संघीय संसदकाे सदस्य नरहेकाे व्यक्ति बढीमा ६ महिनामात्र मन्त्री बन्न सक्ने संवैधानिक प्रावधानका कारण खतिवडाले राजीनामा दिनुभएकाे हाे ।

खतिवडाले सम्हाल्दै आउनुभएकाे अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नेहुनुभएकाे छ ।

शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

गत फागुन २१ मा मन्त्रीमा नियुक्त हुनुभएका खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिनुभएकाे हाे ।

राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि राजीनामा दिएर पुनः मन्त्री बन्नुभएका खतिवडाकाे निरन्तरताका लागि प्रधानमन्त्रीकाे प्रयास भने सफल हुन सकेन ।

प्रधानमन्त्रीले अर्थमन्त्रीमा खतिवडाकाे निरन्तरता चाहेपनि पार्टीले मन्त्रीपरिषद्काे सिफारिशमा राष्ट्रियसभामा नियुक्त गर्ने एक खाली पदमा पार्टीका उपाध्यक्ष बामदेव गाैतमकाे नाम सिफारिश गरेकाे थियाे ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताएपनि विज्ञता अनुसारकाे पर्फमेन्स नदेखिएकाे अर्थविदहरूकाे टिप्पणी छ । खतिवडाले खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया दिनुभयाे ।

Facebook Comments