रुपा गाउँपालिकामा नेकपाको सपथ ग्रहण सम्पन्न

कास्की जिल्लाको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सपथ ग्रहण सम्पन्न भएको छ । रुपा गाउँपालिका कमिटीका सदस्यहरुलाई नेकपाका गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले रुपा ६ मोहरियामा सपथ ग्रहण गराउनु भएको हो । कुल ७५ सदस्य रहेको कमिटीका अध्यक्ष र सचिवले यस अगाडिनै सपथ खाएपनि कमिटी सदस्य ७३ जनाले भने आइतबार सपथ खाएका हुन । साविक एमालेबाट ४३ र माओबादी केन्द्रबाट ३२ गरि ७५ सदस्यीय कमिटी रहेको छ ।कमिटीको अध्यक्षमा सहबक्स मियाँ र सचिवमा नवराज बराल रहनु भएको छ ।


सपथ ग्रहण पछि बोल्दै नेता अधिकारीले गुटउपगुटमा नलागी सिङ्गो पार्टीलाई एक ढिक्का बनाएर अगाडि बड्न निर्देशन दिनु भएको छ । पूर्व मन्त्री समेत रहनु भएका नेता अधिकारीले कार्ययोजना बनाएर कामगर्न निर्देशन दिनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले पार्टीबलियो हुनकोलागि गाउँ कमिटीहरुनै बलियो हुनुपर्नेमा जोड दिनु भयो । नेता गुरुङले नेपालमा चिनिया मोडलको समाजबाद आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले पनि कृषि उपजमै ठुलो रकम बाहिर गइरहेको भन्र्दै पार्टी कार्यकर्तालाई कृषि उत्पादनमा लाग्न निर्देशन पनि दिनु भयो ।

नेकपाका नेता एवं कास्कीका सहइन्चार्ज श्रीनाथ बराललले सामान्तबादका जरा अझै रहेकोले समाजबादमा पुग्न पहिले सामान्तबादको जरा काट्नु पर्ने बताउनु भयो । नेकपाका अर्का नेता कास्कीका सहइन्चार्ज चुडामणि जंगलीले जनताको इच्छा आकांक्षा धेरै भएकोले जनताको चाहाना अनुसार काम गर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै सवै नेता कार्यकर्ता एक भएर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद कृष्ण थापाले सपथ ग्रहण कोरोनाको कारण केही ढिला भएको बताउनु भयो । नेता थापाले सवैलाई पार्टीको काममा लाग्न निर्देशन दिनु भयो ।

नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रदेश सांसद दीपक कोइराला (रुपक)ले तल्लो तह सम्म कमिटीहरु निर्माण गर्दे कमिटी भन्दा बाहिर रहेकाहरुलाई पनि पार्टीमा गोलबन्द गर्न सुझाब दिनु भयो । कमिटी बाहिर परेकाहरुलाई पनि कुनै न कुनै जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल गराउन निर्देशन दिनु भयो । नेकपा जिल्ला सचिव बखान सिंह गुरुङ (अभाष)ले पार्टीलाई जिवन्त बनाउने भनेकै तल्लो तहको कमिटीले भएको हुदा टोलटोलमा कमिटी निर्माण गर्न आग्रह गर्नुभयो । कमिटीको अध्यक्ष सहबक्स मियाँ र सचिव नवराज बरालले पार्टीलाई रुपामा देशकै नमूना बनाउने गरेर कामगर्ने प्रतिवद्धत्ता जनाउनु भयो ।

Facebook Comments