आन्तिरक हवाइ उडान असाेज ५ देखि सञ्चालन हुने

 आन्तरिक हवाइ उडान असाेज ५ गते साेमबारदेखि हुने भएकाे छ ।

सरकारले एयरलाइन्सहरूलाइ पूर्ण क्षमतामा यात्रु राखेर उडान गर्न दिने भएकाे छ । यसअघि सिट क्षमताकाे ५० प्रतिशत मात्र यात्रु बाेक्न पाउने गरी निर्णय भएकाे थियाे ।

बायू सेवा सञ्चालकले सरकारकाे निर्णयकाे विराेध गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीच छलफल भएकाे थियाे ।

साे छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो ।

विमानस्थलमा भिड हुन नदिन मौसम, प्राविधिक समस्या आदिका कारण उडान ढिलो हुने वा स्थगित हुने अवस्थामा ग्रुप एसएमएसमार्फत् सकेसम्म छिटो जानकारी दिनुपर्ने, यात्रुहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, चालक, सहचालकहरुले मास्क भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले चार्टर्ड उडानको हकमा भने लकडाउनअघिकै अवस्था बमोजिम हुने व्यवस्था गर्न भनेको छ ।  

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विमानस्थलमा ज्वरो जाँच गर्न तथा स्वास्थ्य अवस्था सोधपुछ गर्न र विमानस्थलभित्रको व्यवस्थापन र स्वयंसेवकको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला मन्त्रालयसँग अनुरोध समेत गरेको छ ।

नेपालमा गत चैतमा लकडाउन भएयता हवाइ उडान र सार्वजनिक यातायात सञ्चालनमा राेक लगाइएकाे थियाे ।  

Facebook Comments