कास्कीको रुपा वडानं ३ र ४मा नेकपाको शपथ ग्रहण सम्पन्न


कास्की जिल्लाको रुपा गाउँपालिका वडानं ३ र ४मा नेकपा वडा कमिटीको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार दुई छुट्टाछुटै ठाउँमा भएको शपथ ग्रहणमा वडा कमिटीका सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सचिवालय सदस्य एवं प्रदेश सांसद दीपक कोइरालाले शपथ ग्रहण गराउनु भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दे नेता कोइरालाले कम्युनिष्ट पार्टीकै कारण देशमा आजको परिवर्तन सम्भव भएको बताउनु भयो । पुष्पलाल श्रेष्ठहरुले जे सपना देखेर कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो त्यो पुरा हुदै गएको बताउनु भयो ।संविधान दिवसको दिनमै शपथ खाएका वडा कमिटीका सदस्यहरुलाई पार्टीको हित र जनताको पक्षमा काम गर्न निर्देशन दिनु भयो । योजना बनाएर पार्टीको काममा लाग्न पनि निर्देशन दिनुभयो ।


नेकपा प्रदेश सदस्य निर्मला क्रान्तीले शहिदको सपना पुरा गर्नेगरि काम गर्न वडा कमिटीलाई आग्रह गर्नुभयो । क. लेलिनले आफु सवैभन्दा बढी खुशीको दिन पार्टी सदस्य बन्दा लागेको बताउने गरेको भन्दै शपथ खाएका वडा कमिटीका सदस्यलाई गाउँपाटीको निर्देशन अनुसार कार्यक्रम तय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
नेकपा जिल्ला सचिवालय सदस्य अमरदिप पराजुलीले पार्टी एकताको लामो समय सम्म पनि तल्लो तह सम्म एकता प्रक्रिया पुरा नभएको अवस्था रहेकोले अब भने छिट्टै एकता प्रक्रिया पुरा हुने बताउनु भयो । दुई तिहाईको सरकार हुदा पनि जनताको पक्षमा काम हुन सकेन भने यस्ले राम्रो नगर्ने भन्दै वडाबाटै जननिर्वाचित प्रतिनिधिहरु संग नियमित छलफलबाट जनताको आवश्यकताको आधारमा योजनाहरु छनोट गर्नुपर्ने बताउनु भयो ।


नेकपा रुपा गाउँपालिका कमिटी अध्यक्ष सहबक्स मियाँले तल्लो तहमा पार्टी एकताको काम सम्पन्न नहुदा जनप्रतिनिधि र पार्टी विच ग्याप रहेको बताउनु भयो । उहाँले गाउँपार्टीले वडा तह सम्म सर्कुलर जारी गरेकोले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफुहरु निर्वाचित भएपछि रुपामा गरेका कामहरु पार्टी र सिङगो रुपाबासीको पक्षमा भएकोले पार्टीको शिर उचो बनाउने गरी काम गरेको बताउनु भयो । आफ्नो गाउँपालिका देशकै नमुना गाउँपालिका बनाउन सफल भएको उहाँको भनाई थियो । पहिलो बर्ष पूर्वाधार,दोस्रो बर्ष खाने पानी र यो बर्ष उत्पादनको बर्षको रुपमा अगाडी बढेको उहाँको भनाई थियो । सवै वडामा पूर्व एमालेबाट १७ जना र माओबादी केन्द्रबाट १२ जना गरी २९ सदस्य वडा कमिटी रहेको छ । वडानं ३ को अध्यक्षमा दीपेन्द्र गौतम ,सचिवमा बलभद्र कुमाल रहनु भएको छ भने वडानं ४मा डिल्लीराम खनाल अध्यक्ष र शंकर सुनार सचिव रहनु भएको छ ।

Facebook Comments